४ मंसिर २०८१, मंगलबार

दक्षिण एशियाली शारीरिक सुगठन मङ्सिर ७ गतेदेखि


Nepalpatra

४ मङ्सिर, काठमाडौँ । पहिलो संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ । आयोजक नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेसले आज यहाँ पत्रकार सम्मेलनका आयोजना गरी प्रतियोगिता यही मङ्सिर ७ देखि ९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा दक्षिण एशियाका आठ राष्ट्र नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका गरी एक सय महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पुरुष बडी बिल्डिङ, पुरुष फिजिक्स, महिला फिटनेस र महिला फिजिस्कमा प्रतिस्पर्धा हुने नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेस (एनएफबीएफ)का अध्यक्ष शिव लामिछाने विकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्ने अवसर पाउने उहाँको भनाइ थियो । पुरुष बडी बिल्डिङतर्फ ६०, ६५, ७०, ७५, ८०, ८५ र ८५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला फिटनेस खुल्ला तौल समूहको हुनेछ । प्रतियोगिताको लागि कूल रु ४२ लाख खर्च हुने र विदेशी खेलाडीको लागि दर्ता शुल्क ३५० अमेरिकी डलर तोकिएको छ । नेपाली खेलाडीको छनोट र नेपाली खेलाडीको दर्ता शुल्कबारे केही दिनमा निर्णय हुने सो अवसरमा जानकारी दिइयो ।

प्रतियोगिता आयोजकको रुपमा रहेको एएफबिएफ इन्टरनेशनल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेश (आइएफबिबी) को महादेशीय सदस्य हो । आइएफबिबीले विश्वकै चर्चित शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर ओलम्पिया’को आयोजना गर्दै आएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !