२ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित प्रतिनिधिसभाका सांसद रहनुभएको छ ।
अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा सम्पन्न भएको निर्वाचन क्षेत्र विकास योजना छनोटअन्तर्गत बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकामा रु एक÷एक करोडका योजना छनोट भएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले चारै स्थानीय तहमा सांसद एवं खानेपानीमन्त्री मगरले समान रूपमा बजेट विनियोजन गरी योजना छनोट गरेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ का सबै योजना टुंगो लागेका छन् ।
पुनर्वास र बेलौरी नगरपालिकामा छ/छ योजना छनोट गरिएका छन् भने लालझाडीमा चर र बेलडाँडी गाउँपालिकामा छ योजना छनोट भएका छन् ।
पुनर्वासमा भ्यूटावर र शहीद भवन, बेलौरीमा रङ्गशाला, जटीबुटी केन्द्र निर्माण, लालझाडीमा रानाथारू बालउद्यान एवं घरबास र बेलडाँडीमा ऐतिहासिक प्राकृतिक कालिकिच ताल एवं सीमसार संरक्षणका लागि नयाँ योजना अघि सारिएको छ । पुनर्वास नगरपालिकामा लामैया नाला पुल निर्माण रु ४० लाख, पुनर्वास कभर्डहल निर्माण रु २० लाख, शहीद भवन निर्माण रु १० लाख, भ्यूटावर निर्माण रु १० लाख, दिव्य भवन रु १० लाख र गैसमति चर्च रु १० लाखका योजना छनोट गरिएको छ ।
बेलौरी नगरपालिकाअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजनामा बेलौरी रङ्गशाला निर्माण रु ५० लाख, पडाउ गाउँ कालोपत्रे रु १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण रु १५ लाख, त्रिपुरासुन्दरी मन्दिर निर्माण रु १० लाख र तटबन्ध सुतियानालामा रु १० लाखका योजना छनोटमा परेका छन् । लालझाडी गाउँपालिकामा रानाथारू घरबास÷बाल उद्यान निर्माणका लागि रु ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नति रु २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतिका लागि रु २५ लाख योजना छनोटमा परेका छन् ।
यसैगरी, बेलडाँडी गाउँपालिकामा कालिकिच ताल पर्यटन प्रवद्र्धनका लागि रु ४० लाख, वडा नं ३ मा सडक स्तरोन्नति रु २० लाख, जोगेन्द्र थापाको घरदेखि लक्ष्मण थापाको घरसम्म सडक स्तरोन्नति रु १० लाख, सीमसार संरक्षण रु १० लाख र रामजानकी मन्दिर निर्माणका लागि रु १० लाखका योजना छनोटमा परेका छन् । निर्वाचन क्षेत्र नं २ र ३ मा योजना छनोटमा विवाद भएकाले केही योजना टुङ्गो लाग्न बाँकी रहेको प्रमुख तामाङले बताउनुभयो ।