१६ कात्तिक, चितवन । सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर गैँडा मर्ने क्रम बढेको हो ।
चोरी शिकारलाई झण्डै शून्यमा झरेको भए पनि वर्षेनी २५÷२६ वटा गैँडा कालगतिबाट मर्न थालेपछि कारणको खोजी गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कालगतिबाट अर्नाको मृत्युको कारण खोजी गर्न बनाएको समितिले काम भने थालेको छैन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार सन् २०१५ मा गैँडा गणना भएयता हालसम्म ७९ गैँडा कालगतिले मरेका छन् । आव २०७२÷७३ मा १५, आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६ र यस आर्थिक वर्षमा १३ वटा गैँडा कालगतिले मरेका छन् ।
यसै क्रममा २०७२ वैशाखमा एउटा गैँडा चोरी शिकारीले मारेका थिए । ढकालका अनुसार सानो ठाउँमा धेरै गैँडा रहेका कारण कालगतिबाट धेरै मरेको देखिन्छ । निकुञ्जको पूर्व क्षेत्रमा गैँडाको सङ्ख्या केही कम रहेको छ । धेरै गैँडा रहेका पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा सार्न सकिएमा कालगतिबाट मर्नेको सङ्ख्या घटाउन सकिने उहाँले बताउनुभयो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् २०१५ मा गरिएको गणनामा नेपालमा ६४५ गैँडा भेटिएकामा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रहेका थिए । यसैवर्ष पुनः गैँडा गणना गरिँदै छ । त्यसपश्चात् चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लामा पाँच र बर्दियामा तीन गैँडा स्थानान्तरण गरिएको छ ।
चितवनबाटै चीन सरकारलाई चार गैँडा उपहार दिइएको छ । अर्यालले बुढो भएर, बच्चा जन्माउन नसकेर, भाले लाग्ने समयमा भालेले पोथीलाई हानेर पनि गैँडा मर्ने गरेको बताउनुभयो । गैँडाको आयु ४० वर्षको हुने गर्दछ । गैँडाको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा पनि सजिलै गैँडा देख्न सकिन्छ । मध्यवर्ती आसपासका बस्तीमा गैँडा पस्ने समस्या समेत बढ्दै गएको छ ।(रासस)