५ जेष्ठ २०८१, शनिबार

मुद्दा छिनोफानोमा मेलमिलाप


Butwal upanagarpalika

१५ कात्तिक, बुटवल । बुटवल उपमहानगरपालिकाले न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिएको छ । उपमहानगरको न्यायिक समितिमा परेका अधिकांश विवाद हालसम्म मेलमिलापलाई प्राथमिकता दिएर समाधान गरिदै आएको छ ।

उपमहानगरको न्यायिक समितिको कार्यविधि बन्नुअघिदेखि नै मेलमिलापका प्रक्रियाबाट विवाद समाधान गरिदै आएको न्यायिक समितिले जनाएको छ । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म आएका १३५ वटा विवादलाई वडा कार्यालय र मेलमिलाप केन्द्रबाट समाधान गरिएको समितिका सदस्यसचिव कल्पना अर्यालले जानकारी दिनुभयो ।

समितिमा सम्बन्धविच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका मुद्दाहरु आएका थिए । समितिले तिनै विषयका तीन मुद्दा जिल्ला अदालतमा पठाएको छ भने सात वटा मुद्दालाई चालू आवमै फछ्र्यौट गरिसकेको छ । हाल न्यायिक समितिमा छ वटा मुद्दा छन् ।

दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले उप–महानगरपालिकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको बुटवल उप–महानगरपालिकाले सामुदायिक मेलमिलापकर्ताका लागि आजबाट शुरु गरेको पुनर्ताजगी तालिम कार्यक्रममा नगर प्रमुख शिवराज सुवेदी बताउनुभयो ।

उहाँले मेलमिलापकर्तालाई सीमा र जिम्मेवारी निर्वाह गर्न सधैँ सचेत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “मेलमिलापको अर्थ मिल्नु त हो नै तर परम्परागत मेलमिलाप अवधारणाभन्दा फरकरुपमा तेस्रो पक्षको सहयोगमा पक्षहरुको उन्नत चेतनाको मिलन हो ।” न्याय निरुपणलाई र न्यायिक समितिका कामलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालीममा मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, अधिकार तथा यसको सही प्रयोगलगायत विषयमा जानकारी गराइने उपमहानगरपालिका न्यायिक समिति संयोजक एवम् उप–प्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

समुदायस्तरमा मेलमिलापका काम गराउँदै आएका बुटवलका ३० जना सामुदायिक मेलमिलापकर्ता उक्त तालिममा सहभागी छन् । विशेष तालीम तथा प्रशिक्षण लिएर समुदायस्तरमा मेलमिलापकर्ताका रुपमा काम गर्दै आएका उनीहरु अहिले उपमहानगरको न्यायिक समिति मातहत रहेर काम गर्छन । यिनै मेलममिलापकर्तामार्फत न्यायिक समितिले आफ्नो क्षेत्राधिकार बाहिरका विवादलाई पनि मेलमिलापकै माध्यमबाट समाधान गर्दै आएको न्यायिक समिति संयोजक आचार्यले बताउनुभयो ।

उहाँले न्यायिक समितिले मेलमिलापलाई नै पहिलो प्राथमिकतामा राखेर मुद्दाका फाइल अगाडि बढाउँदै आएको उल्लेख गर्नुभयो । नगरवासी सबैले न्यायको अनुभूति गर्ने गरी आफूहरुले उपमहानगरको न्यायिक समितिका कामलाई प्रभावकारी बनाउन लागेको संयोजक आचार्यको भनाइ थियो । तालीममा वरिष्ठ अधिवक्ता तथा प्रदेश कानून आयोगका प्रमुख डा कुमार आचार्य, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीश नरिश्वर भण्डारी र राधा अधिकारीले सहजीकरण गर्नुभएको छ ।

मेलमिलाप र स्थानीय तह, मेलमिलापका थप सीपहरु, हानी नगरौँ भन्ने सिद्धान्त र मेलमिलाप, मेलमिलापमा अवरोधको अवस्था र अवरोध हटाउने तरिका, मेलमिलापको प्रक्रिया तथा चरणलगायत विषयमा तालीम दिइनेछ ।

यस्तै द्वन्द्व÷विवादको अवधारणा, विकास, कारण र मेलमिलापको अवधारणा, वार्ता तथा सौदाबाजी, सवाल र प्रतिक्रियात्मक सुनुवाइ, विकल्पको खोजी, अभ्यास तथा मूल्य सिर्जना, आशय, प्रभाव तथा निष्कर्ष तहलगायत विषय पनि तालीममा रहेको उपप्रमुख आचार्यले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !