१४ कात्तिक, विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ ।
विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा बढीमा बिक्री भएको पाइए कारवाही हुने उहाँले बताउनुभयो ।
उपभोक्ता, किसान र उद्योगीहरुसँगको छलफलपछि नै सरकारले चिनीको खुद्रा मूल्य रु ७० कायम गरेको उहाँको भनाइ थियो । मन्त्री यादवले कालाबजारी र गलत कार्य गर्ने ठेकेदारलाई सरकारले कारवाही गरेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो । विगतमा बजार अनगुमन कार्य नभएकाले अब केही दिनभित्र ग्रामीण क्षेत्र र साना शहर–बजारको समेत अनुगमन हुने उहाँले जानकारी दिनुभयो ।(रासस)