८ मंसिर २०८१, शनिबार

मलावीका गाउँले सुनको खोजीमा बालुवा चाल्दै


Nepalpatra

९ कात्तिक, नाथेन्जे, मलावी । मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले जताततै माटो खनेको, पन्छाएको र एक ठाउँबाट अर्को ठाउँ सारेको वर्षौं भइसक्यो ।

राजधानी लिलोङ्ग्वेबाट २० किलोमिटर दक्षिणमा रहेको नाथेन्जेमा कुनै व्यक्तिले यो बहुमूल्य धातुको सानो टुक्रा देख्नासाथ चिच्याउँछन् र त्यसलाई हेर्न निकै मासिन भेला हुन्छन् ।

छिमेकी मुलुकका व्यापारीहरुले एक ग्राम सुनका लागि ३४ अमेरिकी डलरसम्म गाउँलेलाई दिन्छन्, स्थानीय एक अधिकारीले बताउनुभयो । तर त्यसका लागि पहिले सुन त भेट्टाउनु प¥यो । अति कठिन काममा जुटेका यी मानिसले प्रचण्ड गर्मीमा गरेको दुःख अनुसार कमैमात्र सफलता प्राप्त गर्दछन् । अधिकांश अवस्थामा उनीहरुलाई निराशा मात्र हात पर्दछ ।

अधिकांश महिला सहभागी हुने यी सुनको खोजी गर्नेहरु नेथेन्जे नदीका किनारामा बनाइएका गहिरा खाल्डोमा टाउको उँधो पारेर दिनरात सुन खोज्दछन् । उनीहरु यी खाल्डाबाट बालुवा निकाल्छन्, केहीपर टाउकामा बोकेर लैजान्छन् र सुकाउँछन् । उनीहरुले त्यसलाई होसियारीपूर्वक पखाल्छन् र कतै सुनको टुक्रा छ कि भनेर ध्यानपूर्वक नियाल्छन् ।

टान्डीजेनी नाटानीलाई सुन के हो भन्ने राम्रोसँग थाहा पनि थिएन । एकदिन उनी एकजना साथीसँग सुनखानीमा काम गर्न गएपछि मात्र उनलाई यसको महत्व थाहा भएको थियो । “मलाई यो बहुमूल्य धातु हो भन्नेसम्म मात्र थाहा थियो,” पाँच बच्चाकी आमा नाटानीले बताउनुभयो ।

“पहिलो दिन, मैले २५ हजार क्वाचा (३४ डलर) कमाएँ र त्यसो गर्दै मैले झण्डै एक लाख क्वाचा बनाएँ । मैले यो पैसाले बच्चाहरुको स्कुलमा खर्च गरें,” उहाँले भन्नुभयो ।

गाउँकी अर्की महिला फतिमा चिकालिपोले ७ डलरमा ५० वर्गमिटरको जमिन खरिद गरेको बताउनुभयो । जहाँसम्म उहाँले मिश्रित प्रतिफल पाउनु भएको छ । उहाँले भन्नुभयो, “सुरुआति दिनहरुमा राम्रै थियो तर आजभोलि त दिनभरी खन्दा पनि केही भेटिन्न । त्यसैले, मैले कुनै राम्रो प्रतिफल पाउन सकेको छैन ।”

“साथै सुनको बजारभाउ पनि घटेको छ । हामीले एक ग्राम सुन २५ हजार क्वाचामा बेच्ने गरेका थियौं । अहिले २० हजार क्वाचामा बेच्नु परिरहेको छ ।”

घरेलु उपकरणको प्रयोग गरेरै लुमविरा र डिजोन्डीका गाउँलेहरु पनि यो पेशामा आबद्ध भएका छन् । तर उनीहरु सुन पखाल्ने कलामा केही अनुभवी देखिन्छन् । सुनका कारोबारी र रोजगारी सिर्जना गर्नेहरु पनि गाउँमा देखा पर्न थालेका छन् । उनीहरुले सुनको खोजी गर्नेहरुका लागि अस्थायी आवासको समेत व्यवस्था गर्दछन् ।

“यहाँ अति धेरै काम गर्नु पर्दछ,” स्थानीय एक व्यक्ति मिस्हेक चिलायीसोनले बताउनुभयो । उहाँले यहाँ ५५ डलरमा एउटा जमिनको टुक्रा खरिद गर्नुभएको छ । “लेदो बालुवा मिश्रित माटो बोक्ने महिलालाई हामी पैसा दिन्छौं । फेरि, त्यस्तो माटो नदी किनाराबाट अर्को ठाउँमा ट्रकमा राखेर लैजान्छौं र त्यहाँ सुनको खोजी गर्न माटो पखाल्छौं ।”

चिलायीसोनले लिलोङ्गे बस्ने एकजना भारतीय न्याथेन्जेमा आएको खबर फैलिएसँगै सुनको खोजी व्यापक भएको बताउनुभयो । यी भारतीयसँग भौगर्भिक अनुसन्धानको प्रतिवेदन समेत रहेको र त्यसमा यहाँ सुन पाइन्छ भन्ने रहेको गाउँलेको भनाइ छ । उहाँले भन्नुभयो, “केही समयपछि नै त्यो मान्छे भाग्यो किनभने यहाँ उत्खनन गर्ने अधिकार नभएको थाहा पाएपछि प्रहरीले उसलाई पक्राउ गर्न खोजेको थियो । तर उसले आफ्ना दुईजना मान्छेलाई सुनको कारोबारका लागि यहीँ छाडेर गएको छ ।”

परम्परागत गाउँले मुखिया काटोन्डोले सुन पाइनु यस ठाउँका लागि अत्यन्त राम्रो पक्ष रहेको बताउनुभयो । “हामीलाई ठूलै मद्दत भएको छ । त्यहीकारण धेरै मानिस सुनको खोजीमा लागेका छन् किनभने यसवर्ष यहाँको खेतीपाती ज्यादै बिग्रेको छ । नत्र यहाँ भोकमरि हुने निश्चित थियो । अहिले यहाँ मानिसले पैसा कमाउन पाएका छन् र परिवारका लागि मकै किन्न उनीहरुलाई सहज भएको छ ।”

तर गैरकानुनी सुन उत्खननले ठूलै समस्या निम्त्याएको छ, र सरकारले आयवृद्धिका लागि यो व्यवसायलाई नियमन गर्न खोजिरहेको छ । “सरकारले गैरकानुनी उत्खननलाई मान्यता दिने प्रक्रिया थालेको छ,” खानी विभागका निर्देशक जाल्फ सलिमाले बताउनुभयो । उहाँले सरकारले अनुमतिपत्र दिने प्रक्रिया शुरु गर्न लागेको र अवैध खानी सञ्चालन बन्द गरिने जानकारी दिनुभयो ।

सलिमाले मलावीका न्याथान्जे र अरु पाँचवटा सुन उत्खनन क्षेत्रको सुनको गुणस्तर बारे अझै स्पष्ट नभएको बताउनुभयो । सुनको मुख्य स्रोतबाट तलतिर बगेको सुनको गुणस्तरका बारेमा थप खोजी गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

मलावीमा बेलायती उपनिवेशकाल सन् १८६० मा भौगर्भिक सर्वेक्षण गरिएको थियो । बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि मलावीमा त्यस्तो विस्तृत सर्वेक्षण हुन सकेको छैन ।

न्यासा माइनिङ कोअपरेटिभ्सका अध्यक्ष पर्सी मालेटाले सरकारले अवैध सुन उत्खनन बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले सुनका खानीलाई सफलतापूर्वक सञ्चालन गर्न दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“हामीले स्थानीय सुन खोजकर्तालाई तालिम दिन सरकारसँग आग्रह गरिरहेका छौं ताकि उनीहरुले सहकारी वा खानी सञ्चालन क्लब बनाउन सकून् । यसबाट उनीहरुमा बढी ज्ञान हुने र सुनलाई औपचारिक बजारमा बेच्न मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । “खरिदकर्ताहरुले अवैध बाटो हुँदै यहाँको सुन विदेश लैजान्छन् । त्यसैले मलावीले ठूलो परिमाणमा सुन गुमाउँदैछ ।”

उहाँले मोजाम्बिक, तान्जानिया, जाम्बिया र जिम्बाबेका खरिदकर्ताहरुले प्रति ग्राम २४ देखि ३४ डलरमा मात्र दिने गरेको बताउनुभयो । दक्षिण मलावीबाट यहाँ आएका डामिनो माटेङ्गाका लागि भने अहिलेकै व्यवस्था ठीक लागेको छ ।

“व्यवसाय धेरै राम्रो छ र मैले परिवारलाई राम्रैसँग पालनपोषण गर्न पाएको छु,” उहाँले भन्नुभयो ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !