६ आश्विन २०८१, आइतबार

कृषि ज्ञान केन्द्र स्थापना


Saptari

१८ असोज, सप्तरी । कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ ।

प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो ।

साविकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको कार्यालयको उद्घाटन गर्दै मन्त्री साहले नयाँ सोचका साथ अगाडि बढी किसानका समस्या समाधानमा अग्रसर रहन कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले केन्द्रलाई आवश्यक सहयोग गर्ने र केन्द्रले किसानलाई सहयोग गर्नुपर्ने भन्दै साहले तीन महीनाभित्र हुने अनुगमनमा किसानले सुविधा नपाए कारवाहीका लागि तयार रहन चेतावनी दिनुभयो । पहिलेभन्दा बढी व्यवस्थित ढङ्गले सञ्चालित हुनुपर्ने भन्दै उहाँले प्रदेश मन्त्रालयअन्तर्गत मलखाद्यको टेण्डर प्रक्रिया भएमा मात्र कमिशनको खेल अन्त्य भई सप्तरी र सिरहाका किसानले समयमै मलखाद्य पाउने बताउनुभयो ।

कूल ४८ कर्मचारी रहेको जिल्ला कृषि विकास कार्यालय विस्थापित गरी १७ दरबन्दी भएको केन्द्रले दुई जिल्लामा सेवा पु¥याउन कठिनाइ हुने कर्मचारीले बताएका छन् ।

मन्त्री साहले बुधबार नै पुरानो जिल्ला पशु सेवा कार्यालयमा नयाँ नामसहितको पशु सेवा विज्ञ सम्पर्क केन्द्रको कार्यालय उद्घाटन गर्नुभयो । पशु सेवा विज्ञ केन्द्र भने सिरहामा रहने छ ।

मन्त्रालयले प्रदेशभित्र छ कृषि ज्ञान केन्द्र तथा छ पशु सेवा विज्ञ केन्द्र स्थापना गरी कृषि र पशु सेवालाई कृषकका बीचमा सहज पहुँचको व्यवस्था गरेको मन्त्री साहले बताउनुभयो । उहाँले कार्यालय स्थापना हुँदा केन्द्र सरकारको अधिकार प्रदेश सरकारमा आएको र प्रदेश सरकारले स्थानीय तहको कामलाई समेत सहयोग पु¥याउने बताउनुभयो ।

कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, आधुनिकीकरण र यान्त्रिकीकरणबारे तालीम दिने र सबै स्थानीय तहलाई संयोजन गर्न नयाँ कार्यालय स्थापना गरिएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत किसुनदेव राउतले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !