८ मंसिर २०८१, शनिबार

महानगरले अठार सय स्थानमा सिसी क्यामेरा जडान गर्दै


cc-camara

१७ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।

यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।

अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिनुभयो ।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ ।

त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।

उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ । दशैँअगावै काम शुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दशैँलगत्तै प्रभावकारीरुपमा काम शुरु गरिने जानकारी गराइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !