१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय आविष्कार केन्द्रलाई निजी जग्गा दिने महावीरको घोषणा


Mahbir-pun-Lalpurja

१६ साउन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेका समाजसेवी महावीर पुनले यसका लागि आफ्नो निजी जग्गा दान गर्ने घोषणा गरेका छन् ।

पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा दिने उनले फेसबुकमार्फत घोषणा गरेका हुन् । पर्वत बन्बरेका पदम राईसँग मिलेर २० वर्षअघि किनेको सो जग्गाको मूल्य अहिले तीन करोड रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् ।

जग्गा किन्ने बेला भविष्यमा समुदायहरुलाई फाइदा हुने कामको लागि प्रयोग गर्ने भनेर सल्लाह गरेको र सोहीअनुसार दान गरेको महावीरले बताएका छन् । जग्गा किन्दा राईको नाममा किने पनि उनी अमेरिका बस्ने भएकोले केही महिनाअघि आˆनो नाममा नामसारी गरिएको भन्दै महावीरले जग्गाको लालपूर्जाको फोटो समेत फेसबुक पोस्टमा राखेका छन् ।

पैसाको आवश्यक परेमा सो जग्गा बिक्री गर्ने वा त्यहाँ अनुसन्धानको लागि भौतिक संरचना बनाइने उनले उल्लेख गरेका छन् । आफ्नो नाममा भौतिक सम्पत्तिका रुपमा यति जग्गा मात्र रहेको भन्दै उनले देश विकासको लागि आˆनो बाँकी सम्पूर्ण जीवन लगाउने समेत बताएका छन् ।

आविष्कार केन्द्रको लागि सरकारको ढोका चहारे पनि पार नलागेपछि जनताको ढोकामा आउनुपरेको भन्दै महावीरले सरसहयोगका लागि अरुलाई पनि आग्रह गरेका छन् ।

उनले नयाँ विचार जन्माएर त्यसलाई हुर्काउँदै अघि बढाउने सोचले आविष्कार केन्द्रको अवधारणा ल्याएका छन् । कसैले कुनै कामको योजना ल्याएपछि त्यसको लागि समय र पैसा उपलब्ध गराउनुका साथै प्रशिक्षित समेत तुल्याउने आविष्कार केन्द्रको सोच छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !