९ असार २०८१, आइतबार

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर


Nepalpatra

१६ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ । बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हबल्दार नुरूल होदा अन्सारीले रु ३० हजार घुस लिएको अभियोगमा मलङ्गवा नगरपालिका–१० स्थित टावरचोकबाट आज पक्राउ गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग हबल्दार अन्सारीले घुस माग्दामाग्दै आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लामा परिवार नियोजन सुपरभाइजर पदमा कार्यरत देवबहादुर सुवेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !