७ जेष्ठ २०८१, सोमबार

पथप्रदर्शकलाई संवेदनशील हुन पर्यटनमन्त्रीको आग्रह


Rabindra Adhikari

१५ असोज, काठमाडौँ । टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा सार्वजनिक सुरक्षाका लागि कम्तीमा पचास लाख रुपैयाँको टुरिस्ट गाइड कल्याणकारी कोष स्थापना गर्नुपर्ने, टुरिस्ट गाइडको व्यक्तिगत दुर्घटना बीमा सम्बन्धीत कम्पनीले व्यहोर्ने गरी अनिवार्य व्यवस्था गर्नुपर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन टुरिस्ट गाइडको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा विदेशी तथा स्वदेशी अवैध टुरिस्ट गाइडलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै आवश्यकताभन्दा बढी सङ्ख्यामा टुरिस्ट गाइड उत्पादन गरी अस्वस्थ प्रतिस्पर्धा गराउने कार्यमा रोक लगाउनुपर्ने आग्रह सम्मेलनले गरिएको बताइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले टुरिस्ट गाइड देशको अवैतनिक राजदूतका रुपमा रहेको बताउँदै पेशाप्रति संवेदनशील भएर प्रस्तुत हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि टुरिस्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले यसका लागि टुरिस्ट गाइडले सकारात्मक सन्देश प्रभाव गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि टुरिस्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रको विकास र विसतारका लागि लागि सबै पर्यटन व्यवसायी एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोर्ड सदस्य महतलाई टुर्गान मानार्थ सदस्यता प्रदान गरिएको थियो भने पूर्वअध्यक्षद्वय विष्णु ज्ञवाली, हरेराम बराल, पर्यटक प्रहरी निरीक्षक रुपा थापा, पर्यटन व्यवसायी सिर्जन सिम्खडालाई सम्मान गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !