७ मंसिर २०८१, शुक्रबार

विद्युत् विस्तारमा तीव्रता


Myagdi

११ असोज, म्याग्दी । पहाडी जिल्ला म्याग्दीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार योजनाले प्राथमिकता पाएको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधि तथा निकायले दुर्गम ग्रामीण वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच विस्तारमा प्राथमिकता दिएका हुन् । म्याग्दीमा विद्युत् विस्तारका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारको ऊर्जा तथा जलस्रोत मन्त्रालयले पन्ध्र करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी २ वर्षभित्र सबै वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्ने घोषणा गरेको छ । स्थानीय तहहरुले पनि विद्युत् विस्तारका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् । सर्वसाधारणको दैनिक जीवनयापनलाई सहज बनाउन विद्युत् सुविधा विस्तारमा प्राथमिकता दिइएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताउनुभयो ।

“विगतमा बढीमा चार करोड रुपैयाँसम्म बजेट विनियोजन हुने गरेकामा यस वर्ष कम्तीमा पन्ध्र करोड रुपैयाँ विनियोजन भएको छ,” बेनीमा पत्रकारहरुसँगको भेटघाटमा सांसद थापाले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले सञ्चालन गर्ने विद्युतीकरण विस्तार योजनाका लागि पाँच करोड बीस लाख रुपैयाँ विनियोजन भएको छ ।

दरवाङ, बिम, ताकम, रुम, निस्कोट, अर्मन, मुना, मुदी, गुर्जा, मराङ, मल्कवाङ, ओखरबोट र कुइनेमंगलेमा लाइन विस्तार र ट्रान्सफर्मर जडानका लागि दुई करोड ८४ लाख रुपैयाँ छुट्टिएको छ । धवलागिरि गाउँपालिकाको मुना र मुदीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि एक करोड ५० लाख, धवलागिरि गाउँपालिकामा छुट्टै तीन करोड, अन्नपूर्ण गाउँपालिकामा एक करोड छ लाख, बेनी नगरपालिकालाई बीस लाख, मंगला, मालिका र रघुगंगा गाउँपालिकालाई बीस लाख रुपैयाँ विनियोजन भएको छ ।

आगामी दुई÷तीन वर्षभित्र भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित गुर्जा बाहेक सबै वस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने लक्ष्यसहित योजना अघि बढाइएको सांसद थापाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र प्राधिकरणको केन्द्रीय कार्यालयबाट योजना कार्यान्वयन हुने जनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले प्राधिकरणका योजनाहरु केन्द्रीय निकायबाट कार्यान्वयन हुँदा अपारदर्शी र दोहोरिने समस्या देखिएकाले स्थानीय तहसँग समन्वय गरी जिल्ला स्तरबाट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “सामान खरिददेखि ठेक्काका सबै काम काठमाडौँबाट हँुदा ढिलासुस्ती, डुब्लीकेशन र अपारदर्शी भएको छ,” जिसस प्रमुख केसीले भन्नुभयो – “यसलाई सुधार गर्न नीतिगत पहल र कडाइका साथ अनुगमन गर्छौं ।”

केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि उज्यालोका लागि टुकी र सौर्य ऊर्जाको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन् ।

ग्रामीण क्षेत्रमा उद्यमको विकास हुने, सूचना प्रविधिमा पहुँच बढ्ने, दैनिकी र जनजीवन सहज हुने, व्यय र श्रमको भार घट्ने र वन संरक्षणमा सहयोग पुग्ने जनाइएको छ । सरकारी कार्यालयको सेवा प्रवाह, शैक्षिक र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने धवलागिरि गाउँपालिका ७ धारापानीका रिम प्रकाश थापाले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा २०७५ असार मसान्तसम्म १५ हजार ८०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ ।

पिक आवरमा चार मेगावाट विद्युत् खपत हुन्छ । धवलागिरि, मालिका, मंगला र रघुगंगा गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको क्रममा रहेको प्राधिकरणको बेनी शाखाका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

धवलागिरि गाउँपालिकामा गत भदौमा पहिलो पटक धारापानीका दुई सय घरमा विद्युत् सुविधा पुगेको छ । मालिकाको देविस्थान, ओखरबोट, रुम, निस्कोट, बिम, दिच्याम, दुखमा विद्युतीकरण विस्तारको क्रममा छ । मंगलाको अर्मन, हिदीमा विद्युतीकरण हुन बाँकी छ । रघुगंगाको दर्मीजा, चिमखोला, कुइनेमंगलेमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छैन ।

अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाको अधिकाँश ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगे पनि जीर्ण अवस्थामा रहेका काठे खम्बा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणका प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा दुई हजार ५०० काठका खम्बा छन् । विद्युतीय दुर्घटनाको जोखिममा रहेका काठका खम्बा विस्थापित गरी फलामका खम्बा परिवर्तन गर्न प्राथमिकता दिइएको न्यौपानेले बताउनुभयो ।

प्रसारण लाइन विस्तारसँगै ट्रान्सफर्मरको क्षमता वृद्धि र प्रसारण तथा वितरण लाइनको सुधारको आवश्यकता देखिएको छ । मिलनचोक सबस्टेशनमा गत जेठमा ६/८ केभी क्षमताको पावर ट्रान्सफर्मर जडान भएपछि माग धान्न नसकेर गरिँदै आइएको आन्तरिक विद्युत् कटौतीको समस्या हटेको छ । बागलुङ, पर्वत क्षेत्रमा केन्द्रीय प्रसारण लाइनमा समस्या आउँदा र मर्मत गर्दा म्याग्दीमा विद्युत् कटौती हुने समस्याको समाधानलाई पनि प्राथमिकता दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !