११ असोज, काठमाडौँ । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ ।
शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत फालेलुङ गाउँपालिका–१ र २ मा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र उक्त संस्थाबीच रु सात करोड १७ लाख ६१ हजार ९८८ बराबर लागतको सम्झौता बुधबार सम्पन्न भएको छ ।
संस्थाको तर्फबाट डिल्ली रिजाल, केशव गुरागाई, राजन भट्टराई र धनेन्द्र आङ्थोपोसहितको टोली र प्राधिकरणबीच काठमाडौँमा उक्त सम्झौता भएको हो । पाँचथर जिल्लाका प्रतिनिधिसभाका सांसद वसन्त नेम्वाङले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खेलकूदलगायतको विकास गर्नु पाँचथर जिल्लाको लागि पहिलो कार्य भएकाले त्यसैअनुरुप विद्युत् विकासको कार्यलाई तीव्रता दिइएको बताउनुभयो ।
त्यस्तै सांसद नेम्वाङले आगामी दुई वर्षभित्रमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु¥याइ पाँचथर जिल्लालाई उज्यालो जिल्लाका रुपमा विकसित गर्ने दाबीसमेत गर्नुभयो । त्यस्तै उहाँले जिल्लालाई समृद्ध बनाउन विद्युत् विकासको अभियाननै सञ्चालन गर्ने तयारीमा रहेकोसमेत जानकारी गराउनुभयो ।
उहाँले विद्युत् विकासको गतिलाई तीव्रता दिन प्राधिकरणसँग भएको सम्झौताको काम गर्न फालेलुङ गाउँपालिकाका वडा नं ३, ४, ५, ६, ७ र याङ्वरक गाउँपालिकाका १, २ र ३ नंं वडाका जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभएको छ ।(रासस)