१८ बैशाख २०८१, मंगलबार

पाढी पहिरोले देशभर २८ को मृत्यु, २४ बेपत्ता


bagmati flood

काठमाडौँ, ११ साउन – गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको छ ।

विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक/एक जना बेपत्ता भएको मन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक/एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको विज्ञप्तिमा उल्लेख छ ।

नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।

घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको छ ।

काठमाडौँ : सोमबार राति परेको अवरिल वर्षाले काठमाडौँ महानगरपालिका–११ कुलेश्वर बंसीघाट स्थित सुकुम्बासी बस्तीमा पानी पसी अंदाजी २ सय घर डुवानमा परेका छन् । उक्त स्थानबाट ५१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

काठमाडौँ महानगरपालिका–१४ बल्खु सुकुम्वासी बस्तीमा समेत पानी पस्दा अंदाजी १ सय घर डुवानमा परेका छन् । डुबानमा परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पठाइएको छ ।

यता, किर्तिपुर नगरपालिका–१४ सुन्दरीघाट स्थित बाग्मती नदी किनारमा रहेको सुकुम्बासी टोलमा पानी पसी डुवान भएको छ । उक्त स्थानका ८ घर धुरीका ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ ।

ललितपुर : ललितपुर उपमहानगरपालिका–३ सिगटीगाउँ करिडोर बाटो एरियामा १५÷१६ वटा टहराहरू र वीर बहादुर तामाङ्गको पक्की घरमा पानी पसेकोले उक्त स्थानका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भने ललितपुर महालक्ष्मीस्थान नगरपालिका–१६ नयाँबस्तीमा रहेको नव भवानी एकेडेमी स्कुल भित्र १ फिट पानी जमेको थियो ।

भक्तपुर: नगरकोट नगरपालिका तेलकोट मुहानपोरी स्थित पहिरो जाँदा तेलकोटबाट नगरकोट जाने बाटो एकतर्फी भएको छ भने भक्तपुर नगरपालिका–१० व्यासी स्थित औद्योगिक क्षेत्र भित्र पानी जमेको छ । हनुमन्ते खोलाको पानी पसेर प्रकाश पोख्रेलको ५० बोरा सिमेन्ट डुबेर क्षति भएको छ भने सोही स्थानमा रहेको कागज फ्याक्ट्रीको २ वटा कागज बनाउने मेशिन र कागज बनाउने कच्चा पर्दाथ डुबेर ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

झापा : बिर्तामोड–३ स्थित ढान्ग्राखोलामा सोमबार आएको बाढीले सोही ठाउँ बस्ने ६० वर्षीय सोमनाथ घिमिरेको घर पछाडीपटिको आधा भाग बगाउँदा करिब १ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । सोही ठाउँ बस्ने २७ वर्षीय मदन भण्डारीको घर र ३८ वर्षीय जितबहादुर बस्नेतको घरमा आधा फिट पानी र घर पछाडि रहेको ९ कठ्ठा खेतको धानमा पानी र बालुवा पसी क्षति भएको छ ।

सुनसरी : रामगंज सिनुवारी–७ र ८ मा बुढीखोलामा सोमबार आएको बाढीले ३९ वटा घर र चन्द्रमोहन नहर फुटी १५ वटा घर डुबानमा परेका छन् ।

नुवाकोट : भद्रुटार–१ बस्ने बिनिता तामाङको घरमा माथिबाट पहिरो आई सोमबार घर पुर्दा पूर्णरुपमा क्षति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !