११ मंसिर २०८१, मंगलबार

पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध


विद्युत् विस्तार

२८ भदौ, पशुपतिनगर । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।

इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् ।

विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना छ ।

यस्तै अर्को विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झन सकेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत् प्राधिकरणका प्राविधिक बिहानैदेखि खटिएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !