३ असार २०८१, सोमबार

भूकम्प प्रभावित बालकलाई उपचार खर्च अभाव


himal tamang

२६ भदौ, काठमाडौँ । भूकम्प प्रभावित पाँच वर्षीय बालकलाई मुटुसम्बन्धी गम्भीर रोगले च्यापेपछि उपचारका लागि खर्चको अभाव भएको छ ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ प्यूघरका पाँच वर्षीय हिमाल तामाङ मुटुमा प्वाल परी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । भूकम्पले घर भत्किएपछि तामाङकी आमा सेमसाङ तामाङको मानसिक सन्तुलन गुम्यो । हिमाल एक वर्षको हुँदै आमाको मानसिक सन्तुलन बिग्रिएपछि उनमा कुपोषणसमेत भयो । बाबु प्रेमबहादुर तामाङले उनीसहित एक दाजु र दिदीको पालनपोषण गर्दै आउनुभएको थियो । गत जेठ ८ गते प्रेमबहादुरको करेन्ट लागेर निधन भयो ।

अनाथ बनेपछि हिमाललाई स्थानीय मदर सिस्टर बालगृहले जिम्मा लिएको थियो । बालगृहकी अध्यक्ष मीना थापा हिमाललाई निमोनियाँको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याउँदा कुपोषण, मुटुको समस्यालगायत रोग देखिएको बताउनुहुन्छ ।

अध्यक्ष थापाले भूकम्पले आमाबाबु गुमाउनेको सङ्ख्या बढी भएपछि उनीहरुको संरक्षण गर्न २०७२ सालमा बाल गृह स्थापना गरेकोमा हाल २५ जना भूकम्पले आमाबाबु गुमाइ अनाथ बनेका बालबालिका रहेको बताउनुभयो । “उनीहरुको खाने बस्ने एवं शिक्षा दीक्षाको व्यवस्था मिलाउन नै अप्ठ्यारो छ, सहयोग जुटाएर हिमालको उपचार गर्दै आएका थियौँ, मुटुको गम्भीर समस्या देखिएपछि सहयोगीको आशामा छौँ”–उहाँले भन्नुभयो ।

प्रेमबहादुरको मत्युअघि उनका भाइको पनि मृत्यु भएकाले दाजुभाइको किरिया गर्दा लागेको ऋणले परिवार उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेको हिमालका काका सोमबहादुर तामाङले गुनासो गर्नुभयो । भदौ ११ गतेदेखि अस्पतालको बाल वार्ड ९०७ नं श्ययामा उपचाररत हिमाललाई बचाउन बालगृह र आफन्तले अनुरोध गरेका छन् । हिमालका दाजु र दिदीलाई भने आफन्तले संरक्षण दिँदै आएका छन् ।

हिमालको एक्स रे र भिडियो एक्स रे प्रतिवेदन अनुसार मुटु ठूलो भएकाले फाल्नुपर्ने जति रगत नफालेको उपचारमा संलग्न चिकित्सक विश्वनाथ साहले बताउनुभयो । रक्तचाप उच्च भएका तामाङलाई औषधिले पनि काम नगरेको उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !