११ श्रावण २०८१, शुक्रबार

टर्कीको असफल ‘कू’ प्रयासमा २६५ को मृत्यु, भएको के हो ?


turkey

टर्कीमा भएको असफल सैनिक कूको प्रयासमा २६५ जनाको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री बिनाली यिल्दिरिमले बताएका छन्। घटनालाई प्रजातन्त्रको इतिहासमै एउटा दाग बताउँदै उनले सरकार समर्थित फौज, सर्वसाधारण र कूको प्रयास गर्ने सेनाबीच भिडन्त हुँदा यति धेरै संख्यामा मृत्यु भएको उनले बताए।

उनका अनुसार १ हजार ४४० जना घाइते भएका छन् भने कूको प्रयास गर्ने २ हजार ८ सय ३९ जना सैनिक पक्राउ परेका छन्।

भएको के हो ?
शुक्रबार टर्कीमा एकाएक अन्यौल छायो। सेनाका फाइटर प्लेनहरु लो हाइटमा उडे। महत्त्वपूर्ण दुई वटा पुललाई सेनाले नियन्त्रणमा लिए। सैनिक शासन लागू भएको घोषणा गरियो। खासमा यो सेनाको एक समूहले गरेको कूको प्रयास थियो। तर सरकार पनि चुप बसेन। इस्तानबुलको सैनिक स्कूलबाट दर्जनौँलाई पक्राउ गरियो।

किन कू ?
टर्कीको इतिहासमा सेनाले राजनीतिमा हस्तक्षेप पटक पटक गरेको छ। सन् १९६० यतामात्रै पनि तीन पटक कू भइसकेको छ। एक पटक सेनाले एउटा सरकारलाई राजीनामा दिन बाध्य बनाएको थियो। अहिले राष्ट्रपति एर्डोगानको इस्लामिस्ट सरकारका समर्थक र टर्कीको धर्म निरपेक्ष परम्पराका समर्थकहरुबीच निकै गहिरो गरी ध्रुवीकरण भइरहेका बेला सेनाले कूको प्रयास गरेको हो।

किन असफल भयो कू?
टर्कीका जनता फेरि सैनिक शासनमा फर्कन अनिच्छुक देखिए। राष्ट्रपति एर्डोगानका नीतिसँग गहिरो मतभेद हुनेहरुले पनि सैनिक शासनमा फर्कन इच्छा गरेनन्। राजनीतिक दलहरु पनि त्यस्तै देखिए। टर्कीको मुख्य विपक्षी पार्टी जसले धर्मनिरपेक्ष टर्क, राष्ट्रवादीहरु र कुर्दहरुको प्रतिनिधित्व गर्छ, उनीहरुले पनि कूको विरोध गरे। सेनाकै टप जनरलहरुले पनि कूको विरोध गरे जसको अर्थ सेनाभित्रै पनि कूको पक्षमा ठूलो समर्थन थिएन भन्ने देखाउँछ। सडकमा जनता उत्रिएपछि सेनालाई पनि थाम्न गाह्रो पर्‍यो।

नेपालको धारणा के?
नेपाल सरकारले पनि शनिबार विज्ञप्ति जारी गर्दै कूको विरोध गरेको छ। जनताको म्यान्डेटलाई नै सर्वोपरी मान्नुपर्ने र त्यसलाई शक्तिको प्रयोग वा अन्य कुनै गैरकानुनी किसिमले बिगार्न नहुने भन्दै नेपाल सरकारले प्रजातान्त्रिक संस्थाहरुको सम्मान गर्न र टर्कीका जनताले चुनेको
नागरिक सरकार प्रति सम्मान गर्न सबैलाई अनुरोध गरेको छ। अमेरिकी विदेशमन्त्रीले पनि आफूहरु टर्की सरकारको पक्षमा रहेको बताए। जर्मन चान्सलर आङ्ग्ला मर्केलले पनि सडकमा ट्याङ्क र आकाशबाट आफ्नै जनताविरुद्ध आक्रमण कानुनविपरीत रहेको बताइन्।

अहिले के छ स्थिति?
देशका विभिन्न भागमा टर्कीका जनताले प्रदर्शन गरे। टर्कीका राष्ट्रपतिले शनिबार राति घोषणा गरे, सेना हाम्रो हो। म चिफ कमान्डर हुँ। टर्कीका फाइटर प्लेनले अङ्काराका सडकमा रहेका ट्याङ्कमा बम हानेका थिए भने कूको प्रयास गर्नेहरुले प्रयोग गरेको एउटा सैनिक हेलिकप्टरलाई पनि खसालिएको थियो। शनिबार रक्षामन्त्री फिक्री इसिकले टर्कीका सबै भागमा आफ्नो नियन्त्रण रहेको तर सतर्कता आवश्यक रहेको बताए। उनले भने, हामीले कूको प्रयास रोकेका छौँ। तर खतरा टरिसक्यो भन्नु चाँडो हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !