८ बैशाख २०८१, शनिबार

कोरियामा नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ


park-jun-song

श्रावण १, २०७३- रोजगार अमुनति प्रणाली (इपीएस) बाट मजदुरी गर्न दक्षिण कोरिया आएका नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार बिहान ३.३० बजे ७.३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेसँगै नेपाली कामदारको न्यूनत्तम तलबमा वृद्धि भएको हो ।

सन् २०१७ देखि लागू हुने नयाँ तलबमान अनुसार मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन (करिब ६ सय रुपैयाँ) पाउने भएका छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् ।

तलब बृद्धिसँगै उद्योगको प्रकृति अनुसार महिनामा २०९ घण्टा काम गर्ने नेपाली कामदारले न्युनतम १३ लाख ५२ हजार २ सय ३० वन (करिब १ लाख ३० हजार रुपैयाँ) पाउने भएका छन् ।

शुक्रबार साँझ ५ बजेदेखि ज्याला निर्धारण समितिको कार्यालय सेजोङ सीमा भएको बैठक राति अबेरसम्म पनि समझदारी नभए पछि मतदान भएको थियो । समितिमा मजदूर , रोजगारदाता र सरकारी प्रतिनीधि ९/९ गरि २७ जना रहने व्यवस्था छ ।

मतदानमा सरकारी र रोजगारदाता प्रतिनिधि १६ जना मात्र सहभागी भएका थिए । १६ मध्ये १४ जनाले ७.३ प्रतिशत बढाउनुपर्छ भन्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए । मजदुर प्रतिनिधिहरुले भने प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राख्दै मतदान बहिस्कार गरेका थिए ।

बहुमतले प्रस्तावको पक्षमा मतदान गरेपछि समितिका अध्यक्ष पार्क जुन सङले २०१७ का लागि मजदूरको तलब ७.३ प्रतिशतले बृद्धि भएको घोषणा गरेका थिए ।

आज पारित भएको प्रस्तावका लागि २० दिनसम्म उजुरी म्याद राखिएको छ । यो अवधिमा कुनै पक्षबाट उजुरी नआए श्रम तथा रोजगार मन्त्रीले अगस्त ५ मा मन्त्रिपरिषद पेश गर्ने छन् । मन्त्रिपरिषदले पारित गरे पछि निर्णय २०१७ को जनवरीबाट लागु हुने प्रावधान छ ।

मजदूर संगठन केसिटियु र एमटियुले सरकारी र रोजगारदाता प्रतिनिधिले मात्र निर्धारण गरेको पारिश्रमिक अमान्य हुने बताउँदै विरोध गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गर्दै बढ्दो महँगीले अहिलेको तलब स्केलले दैनिक जीवन यापन गर्न गाह्रो हुने बताए । मजदुरहरुको अवस्थालाई अध्ययन नै नगरी दुई पक्षले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए । प्रतिघण्टा १० हजार वन नभएसम्म आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरियामा मजदुरको तलब धेरथोर हरेक वर्ष वृद्धि हुँदै अएको छ । यस अघि २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६,२०१३ मा ६.१, २०१४ मा ७.२ २०१५ मा ७.१ र २०१६ मा ८.१ प्रतिशत बृद्धि भएको थियो ।

कोरियामा २ करोड स्वदेशी मजदुर छन् । यी मध्ये ५० लाख भन्दा बढी न्यूनत्तम आय भएका मजदुर छन् । तलब बृद्धिले न्यनतम आय भएका स्वदेशी र १० लाख बिदेशी मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !