७ मंसिर २०८१, शुक्रबार

गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिए


Nepalpatra

२ भदौ, चितवन । सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ ।
नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा आफूले श्रीमतीलाई सुनको हार किन्न खोज्दा २० प्रतिशत जर्ती मागेको बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले सुन खरीद बिक्रीसम्बन्धी सरकारी मापदण्ड आफूले पनि नपाएको बताउनुभयो । सङ्घले बनाएको मापदण्डका आधारमा आवश्यकताअनुसार व्यवसायीले ज्याला र जर्ती लिने गरेको उहाँले बताउनुभयो । काम गर्ने श्रमिकले लिने ज्याला र सुनका गहना बनाउँदा नोक्सान हुने सुनको आधारमा जर्ती तय हुने गर्दछ ।

उपभोक्ताले गहना खरीद गर्दा ज्याला र जर्ती तिरेर खरीद गर्दछन् भने त्यही गहना बिक्री गर्दा पुनः ज्याला र जर्ती तिर्नुपर्ने बाध्यता छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं ७ का संयोजक विपीन रामुदामुले साना गहनामा जर्ती बढी हुने बताउँदै भन्नुभयो, “पाँच लालको चन्द्रमा बनाउँदा तीन लाल जर्ती लिनुपर्छ ।” व्यवसायीले नेक्लेस, रानीहार, चुरा, मंगलसूत्रजस्ता गहनामा १० देखि २० प्रतिशतसम्म जर्ती लिने गर्दछन् ।

नारायणगढस्थित जय सन्तोषीमा सुनचाँदी पसलका सञ्चालकसमेत रहनुभएका रामुदामुले ज्याला श्रमिकलाई दिनका लागि र जर्ती गहना बनाउँदा हुने नोक्सानका लागि लिने गरेको बताउनुभयो । उहाँका अनुसार सुन बनाउँदा लाग्ने रसायन र अन्य खर्च पनि जर्तीका नाममा लिने गरिन्छ ।

सुनचाँदी व्यवसायी आफ्नै सुनप्रति विश्वस्त नभएको पाइन्छ । एउटा पसलमा किनेको सुन अन्य पसलमा बिक्री गर्दा त्यस पसलले सकेसम्म नकिन्ने, किन्नै पर्दा पनि धेरै जर्ती काट्ने गरेको पाइन्छ ।

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम गहना खरीद बिक्रीमा लिने ज्याला र जर्ती निश्चित हुनुपर्ने बताउनुहुन्छ । एउटै प्रकृतिको गहनामा पसलै पिच्छे ज्याला र जर्तीको फरक फरक प्रतिशत रकम लिने गरेको बताउँदै उहाँले यसले कतिपय ठाउँमा व्यवसायी पनि ठगिएको र कतिपय ठाउँमा उपभोक्ता ठगिएको बताउनुभयो ।

राज्यले निश्चित ऐन कानून बनाएर मादपण्ड तय गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका गौतमले बताउनुभयो । नेपालमा मात्रै होइन, विश्वभर जहाँ बिक्री गर्दा पनि सुन किनबेच हुनसक्ने गरी मापदण्ड बनाइनु पर्ने उहाँको सुझाव छ ।

जिल्लामा मात्रै ५०० सुनचाँदी पसल रहेका छन् । ती पसलले दैनिक पाँच किलो सुन बराबरका गहना बिक्री गर्ने गर्दछन् । जसमध्ये बैंकबाट एक किलो मात्रै आउने गर्दछ भने बाँकी सबै पुराना गहना र चोरीको सुन आउने गरेको व्यवसायी नै बताउँछन् । सुन गुणस्तर जाँच गर्ने उपकरण प्रयोगमा ल्याइएको छैन । उपभोक्ताले विश्वासका आधारमा सुनका गहना खरीद गर्नुपर्ने बाध्यता रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !