२४ असार, काठमाडौं । स्याउँस्याउँ किरा । सहनै नसकिने दुर्गन्ध । फोहोरको डंगुर । जताततै झिँगा भन्किरहेका । देख्दै वाक्क लाग्ने यो ठाउँ कुनै युद्धभूमि होइन । यो दृश्य हो काठमाडौं उपत्यकामा रहेका वधशाला अर्थात् राँगा-भैंसी काट्ने ठाउँ । जहाँ काटेको मासु हामीले खाँदै आएका छौं ।
काठमाडौंमा सञ्चालित बधशालाहरुको अनुगमन गर्न गएको आपूर्ति मन्त्री गणेशमान पुनको टोली शुक्रबार बिहान सतुंगलस्थित ‘मोज मिट सेन्टर’ को बधशाला पुग्दा देखिएको दृश्य हो यो ।
मन्त्रीको टोली अनुगमनका लागि पहिले मोज मिट सेन्टरको बिक्री स्थलमा गयो । त्यहाँ सामान्य अवलोकन गरेपछि अनुगमन टोलीले आफूहरुले बधशाला हेर्ने बतायो । मिट सेन्टरका सञ्चालकले अनुगमन टोलीलाई बधशालासम्म जाने घुमाउरो बाटो देखाए ।
बिक्री केन्द्रदेखि बधशाला ६/७ मिनेटको दूरीमा रहेछ । अनुगमन टोली बधशालासम्म पुग्दा मिट सेन्टरका कर्मचारीहरुले हतार हतार मोटरसाइकलमा गएर बधशालामा पानी हाल्दै सफा गरिसकेको प्रष्टै देखिन्थ्यो ।
जब मन्त्रीको टोली बधशालाभित्र प्रवेश गर्यो, तब त्यहाँको दुर्गन्धले सबैको सातो लियो ।
बधशालाको दुर्गन्ध सहन नसकेर अनुगमन टोलीमा गएका एक प्रहरीले तत्कालै वान्ता गरिहाले । अनुगमन टोलीमा गएका धेरै सदस्यहरु भित्र बस्नै नसकेर बाहिर निस्किए । मन्त्रीसहितको सानो टोलीले एकछिन भित्र बसेर अवलोकन गर्यो ।
अवलोकनपछि मन्त्री पुनले हदैसम्मको लापरबाही भएको बताए । उनले तत्कालै वधशाला शील गरेर कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए ।
वधशाला ऐन २०५५ र खाद्य सुरक्षा नियमावली ०५७ अनुसार सो सो वधशाला सञ्चालन नभएको अनुगमन टोलीले बताएको छ । ‘यो वधशालाले सरसफाइमा शतप्रतिशत हेलचेक्र्याइँ गरेको पाइयो,’ भेटेरिनरी जाँच जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वरका पशुचिकित्सक डा. नारायण घिमिरेले भने ।
अनुगमन टोलीले वधशाला सञ्चालकलाई वधशालाभित्र थुपारिएको राँगाँभैसीको छालाको डंगुर खाडल खनेर गाड्न र पूर्णरुपमा सरसफाइ गर्न निर्देशन दिएको छ ।
नजिकैको प्रहरी चौकीमा लगेर वधशाला सञ्चालक शेख मोहम्मदलाई सो कार्य पूरा गर्ने लिखित कबुलियतनामा गराइएको छ । वधशाला सफा भइसकेपछि शील गर्ने अनुगमन टोलीका अधिकारीहरुले बताएका छन् ।
मानव वस्तीकै बीचमा रहेको वधशालाबाट बाहिरसम्मै दुर्गन्ध फैलिरहेको थियो । वधशाला नजिकै चिया पसल सञ्चालन गर्दै आएका एक स्थानीयले अनलाइनखबरसँग भने- ‘पानी परेका बेला त खपिनसक्नु गरी गन्हाउँछ नि हजुर, कसले हटाउने र यो वधशालालाई ? उसँग पर्याप्त पैसा छ ।’
सतुंगलबाट अनुगमन टोली सीधै टेकुस्थित विष्णुमती किनारमा रहेको ‘हृयुमन सामुदायिक पशु वधशाला’ पनि अनुगमन गर्यो । सो वधशालामा बाहिरै देखिएको फोहोरले अनुगमन टोलीका सदस्यहरु भित्र प्रवेश गर्न आनाकानी गरे ।
त्यो वधशालामा पनि सतुंगलकै जस्तो दृश्य देखियो । त्यहाँ पनि अनुगमन टोलीले सरसफाइ गर्न निर्देशन दियो ।
त्यसपछि मन्त्रीको टोली कालीमाटीमा रहेको माछाको स्टोरेज हेर्न गयो । भैँसी र राँखा काट्ने बधशालाको तुलनामा त्यहाँ केही सफा देखिन्थ्यो । तर, कालीमाटीका व्यवसायीले सञ्चालन गरेको माछा स्टोरले पनि सरकारी मापदण्ड भने पूरा गरेको देखिएन । ग्राहकले मागेपछि मात्रै चिसोमा राखिएको माछा निकाल्नुपर्नेमा त्यहाँका व्यवसायीहरुले खुद्रा बिक्रेताले जस्तै गरी माछा स्टोर गरेको पाइयो । अनुगमन टोलीले माछा व्यवसायी संघका प्रतिनिधिलाई बोलाएर तत्कालै सरसफाइमा ध्यान दिन निर्देशन दिए ।
त्यहाँका केही माछा पसलमा भएका ढक तराजु नापतौल विभागमा दर्ता पनि भएका रहेनछन् ।
‘अर्को पटक अनुगमनमा आउँदा यस्तै दृश्य देखियो भने माछा नै जफत गरेर लान्छौं र कानून अनुसार जेल सजायँ पनि गर्छौ,’ अनुगमन टोलीका सदस्यले व्यवसायीलाई भने ।
अनुगमन टोलीको भागमा झिँगा
अनुगमन सकेर टोलीले बबरमहलस्थित एक थकाली भान्सा घरमा आएर खाना खायो । खाना खाने क्रममा टोलीका एक सदस्य अर्जुन पोखरेलको थालमा बधशालाको झैं किरा भेटियो ।
किरा भेटिएपछि टोलीका केही सदस्यहरु खाँदै गरेको खाना छोडेर उठे । यसले, राजधानीका नाम चलेका रेस्टुरेन्टहरु सरसफाइ र जनस्वास्थ्यमा कति संवेदनशील छन् भन्ने भनेर प्रष्ट्याउँथ्यो । साथै यो किराले छेउमै रहेको काठमाडौं जिल्ला प्रशासन र वाणिज्य विभागलाई गिज्याइरहेको थियो ।
मम खाने कि नखाने ?
काठमाडौं उपत्यकामा सबैभन्दा बढी बिक्री हुने खाजा हो- मम । मममा पनि सबैभन्दा बढी बिक्री हुन्छ, बफ मम । ममप्रति ग्राहकको अत्यधिक आकर्षण भएकाले नै हो- मम नपाउने होटल तथा रेस्टुराँहरु कमै होलान् राजधानीमा ।
यतिधेरै पसल हुँदा पनि कतिपय मम पसलमा ग्राहकले मम खानका लागि आधाघन्टा भन्दा बढी लाइन बस्नुपर्छ ।
शुक्रबार अनुगमन टोलीले बधशाला अनुगमन गरेका दृश्य हेरेपछि अब मम खाने कि नखाने ? भन्ने प्रश्न जोकोहीको मनमा सहजै उठ्न सक्छ ।