८ बैशाख २०८१, शनिबार

चितवनको माडी क्षेत्रमा पानीको सतह अत्याधिक वृद्दि, सतर्क रहन अाग्रह


River

१७ असार, २०७३:- गएरातिदेखि परेको अविरल वर्षाले पानीको तह बढेपछि चितवनको माडी क्षेत्रका स्थानीयलाई सतर्क हुन आग्रह गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा, बाढी भविष्यवाणी शाखाका मौसमविद विनोद पराजुलीको अनुसार त्यहाँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ । उनले भने, ‘उक्त क्षेत्रमा पानीको सतह अझै बढ्छ । त्यसैले अहिले नै सतर्कता अपनाअौ र सुरक्षित हो‌औं भनेर आग्रह गरिएको छ।

महाशाखाले बिहीबार नै विशेष बुलेटिन निकालेर मनसुन थप सक्रिय भएका कारण बिहीबारदेखि नै मुलुकभर वर्षा हुने र पूर्व तथा पश्चिमी भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको हो । ‘यो वर्षा तीन दिनसम्म हुने सम्भावना छ,’ महाशाखाका इन्चार्ज मौसमविद् सुजन सुवेदीले इकान्तिपुरलाई भने, ‘भारी वर्षा हुन सक्ने भएकाले सतर्क हुनुपर्ने देखिन्छ ।’ सामान्यसहित भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई सचेत गराएको छ ।

बिहीबार बिहानैदेखि बंगालको खाडी र अरेबी सागरबाट एकै पटक जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले यहाँको मनुसन थप सक्रिय भएको मौसमविद् सुवेदीले बताए । ‘मनसुन एक/दुई दिन रोकिएको जस्तो भएको थियो,’ उनले भने, ‘बिहीबारदेखि पुन: मनसुन सक्रिय भएको छ, धेरै भागमा वर्षा भएको छ।

असार १ मा पूर्वी भागबाट प्रवेश भएको मनसुन तीन दिनमै देशभर फैलिएको थियो । जुन महिनामा मुलुकका केही भागमा औसतभन्दा बढी र केहीमा औसत वर्षा भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए । ‘जुलाईभरि मनसुन राम्रो हुने देखिन्छ,’ उनले भने, ‘धेरै भागमा भारी वर्षासमेत हुन सक्नेछ ।

काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापकसमेत रहेका वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले गत वर्षको मनसुन निष्क्रिय भएकाले कम वर्षा भएको थियो । यसपटक सुरुवातदेखि नै मनसुन राम्रो देखिएकाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो र समथर भागमा बाढीको उच्च सम्भावना रहेको उनले औंल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !