१५ बैशाख २०८१, शनिबार

वृहद फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा, दर्ता असार मसान्तसम्म


Photo-Exhibition

१६ असार, २०७३:-नेपालमा अहिलेसम्मकै सबैभन्दा वृहद फोटो प्रतियोगिता तथा प्रदर्शनको हुने भएको छ । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधवार सम्पन्न एक कार्यक्रम मार्फत प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।

आइएमई ग्लोबल, आइएमई बैंक, नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनी नाम दिइएको यो प्रतियोगिताको पाँचौं संस्करणको घोषणा भएको हो । विनासकारी भूकम्पबाट सिर्जित पीडादायी अवस्थाका कारण गत वर्ष स्थगित प्रतियोगिता र प्रदर्शनीलाई यो वर्षबाट पुनः निरन्तरता दिइन लागेको पिजे क्लबले जनाएको छ ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताका लागि बुधबारबाटै फोटो दर्ता प्रक्रिया सुरु भएको छ । प्रतियोगितामा व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np मा गएर दिइएको गाइडअनुसार फोटो दर्ता गर्न सकिने क्लबले बताएको छ ।

प्रतियोगितामा विदेशी नागरिक तथा पिजे क्लबको कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाउने नियम बनाइएको छ ।

बुधबारबाटै सुरु भएको दर्ता प्रक्रिया असार मसान्तको मध्यरातमा १२ बजे वन्द हुनेछ भने साउन १२ मा पिजे क्लबले एक भव्य कार्यक्रमका बीच सबै सात विधाका विजेताको घोषणा गर्ने जानकारी गराएको छ ।

फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेलेे नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी भदौ १५ गते विजेतालाई पुरस्कृत गरिनेछ भने त्यही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी गराएका छन् ।

उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढी फोटोग्राफरका १३ हजारभन्दा बढी फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।

यो पनि हेर्नुहोस
विश्वका अग्ला १० हिमशिखर*(फोटो फिचर)

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !