११ बैशाख २०८१, मंगलबार

गैंडा तस्कर आरोपी राजकुमारलाई १५ बर्ष कैद


Rajkumar Chepang

१४ असार, चितवन:- दुर्लभ वन्यजन्तु मानिने एक सिंगेका गैंडाको अवैध सिकारमा संलग्न कुख्यात अपराधी राजकुमार चेपाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय गरेको छ। जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले चेपाङलाई सोमबार उक्त सजाय सुनाएकाे हाे।
गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद अथवा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

चितवनको विकट गाउँ कोराक कालिखोलाका राजकुमारले विस २०६७ साल जेठ १० गते गोरखाबाट नागरिकता झिकेको अनुशन्धानबाट खुलेको छ । उनले भक्तराज गिरीको नामबाट गोरखाबाट नागरिकता लिएसँगै काठमाडौं पराराष्ट्र मन्त्रालयबाट ६७ सालकै जेठ २० मा राहदानी सोही वर्षको असोज २६ मा मलेसिया गएका थिए।

राजकुमार इन्टरपोलको सहयोगमा मलेसियाबाट गिरफ्तार भएका थिए। नेपालबाट फर्जी नागरिकता र राहदानी बनाएर मलेसिया पुगेका राजकुमारलाई पक्राउ गर्न इनटरपोलले रेडकर्नर नोटिस जारी गर्यो। उनी विरुद्ध ७० सालको कात्तिकमा नोटिस जारी भएको थियो। वन्यजन्तु अपराधमा रेडकर्नर नोटिस जारी भएको उनी पहिलो नेपाली हुन् । ७१ साल माघ १६ मा उनी मलेसियामा समातिए । त्यसको १० दिनपछि निकुञ्ज मुख्यालय कसरा ल्याइएका थिए।

राजकुमारले २१ वटा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा चितवन निकुञ्जले पटक पटक गरेर उनीमाथि १९ वटा मुद्दा लगाएको छ। जसमध्ये छवटा मुद्दा चितवन निकुञ्ज कार्यालयबाट फैसला भएको छ।

चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार गत माघ १७ गते चितवन निकुञ्जबाट अदालतमा सो मुद्दाको फाइल आएको थियो। मुद्दामा राजकुमारसहित ११ जना प्रतिवादी रहेकोमा एकजना मिलन बोटेलाई सात वर्ष कैद भएको छ।
राजकुमारसहित अरु १० जनालाई १५ वर्ष कैद भएको सूचना अधिकारी कृष्ण बरालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !