६ बैशाख २०८१, बिहिबार

पक्राउ परेका ३७ चिकित्सकमध्ये १२ सरकारी सेवामै रहेको खुलासा


fake doctor

१३ असार, २०७३- नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेर काम गरेको अभियोगमा पक्राउ परेका ३७ चिकित्सकमध्ये १२ सरकारी सेवाकै रहेको खुलेको छ ।

आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत साता ३७ चिाकित्सकलाई पक्राउ गरेको थियो । तीमध्ये १२ जना विभिन्न सरकारी अस्पतालमा विज्ञका रूपमा काम गरिरहेको खुल्न अाएको छ ।

आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अनुसन्धानका लागि ब्युरोको हिरासतमा रहेका सन्तोषकुमार झा ६ महिनादेखि वीर अस्पतालको ट्रमा सेन्टरमा मेडिकल अधिकृतका रूपमा कार्यरत थिए । उनले नेपाल मेडिकल काउन्सिलमा बंगलादेशको एमबीबीएस र चीनबाट एमडी गरेको शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अध्यासको अनुमति पाएका थिए । रामजी यादव २ वर्षदेखि स्त्री तथा प्रसूति रोगविज्ञका रूपमा जनकपुर अञ्चल अस्पतालमा कार्यरत थिए । उनी पूजा मेडिकल हलमा समेत काम गर्ने गरेको ब्युरो अनुसन्धानमा खुलेको छ ।

पन्नालाल पटेल ५ वर्षदेखि नारायणी उपक्षेत्रीय अस्पतालमा चिकित्सकका रूपमा कार्यरत थिए भने गण्डक अस्पताल वीरगन्जमा २ महिनादेखि अनकल चिकित्सकका रूपमा संलग्न थिए । नेपालबाट एमबीबीएस र एमएस गरेका सरोजकुमार सिंह, नारायणी उपक्षेत्रीय अस्पताल र रौतहट जिल्ला अस्पतालमा कार्यरत रहेको ब्युरोले खुलाएको छ ।

सुनील आचार्य स्त्री रोगविज्ञका रूपमा स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए । उनले एमबीबीएस र एमडीको शैक्षिक प्रमाणपत्र बंगलादेशको पेस गरेका छन् । ब्युरोस्रोतका अनुसार मनीष अर्याल कोसी अञ्चल अस्पताल र परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए ।

चीनको एमबीबीएसको प्रमाणपत्रका आधारमा चिकित्सक बनेका अर्थोपेडिक चिकित्सकका रूपमा कार्यरत गजानन्द प्रकाश भण्डारी वीर र क्षयरोग निवारण केन्द्र भक्तपुरमा कार्यरत थिए । उनले एक वर्ष चिकित्सकका रूपमा काठमाडौं मेडिकल कलेजमा समेत काम गरेको खुलेको ब्युरोस्रोतले जानकारी दियो । पक्राउ पर्दा उनी विराटनगरको गोल्डेन अस्पतालमा हाडर्जोनी विशेषज्ञका रूपमा कार्यरत थिए ।

किर्गिस्तानबाट एमबीबीएस गरेका महेशर यादव २०६२ देखि सरकारी सेवामा संलग्न रहेको ब्युरोको अनुसन्धानमा खुलेको छ । ब्युरोस्रोतका अनुसार उनी जनकपुर अञ्चल अस्पतालमा मेडिकल अधिकृतका रूपमा करारमा कार्यरत थिए । उनले यस अगाडि संखुवासभाको चैनपुर, बाराको निजगढको प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा काम गरेका थिए ।

नेपालबाटै एमबीबीएस गरेका श्रीराम घिमिरे जिल्ला अस्पताल अर्घाखाँचीमा संलग्न देखिएका छन्। उनी हाम्रो सहयात्री अस्पताल जडिबुटीमा समेत काम गर्थे । कुशराज गिरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बालरोग विशेषज्ञका रूपमा कार्यरत थिए । रामकुमार प्रधान वीर अस्पताल र सञ्जयकुमार दास कोसी अञ्चल अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत रहेको ब्युरोले खुलाएको छ ।

ब्युरोका प्रवक्ता दिवस लोहनीका अनुसार सरकारी सेवामा कार्यरत रहेका चिकित्सकको हकमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लेखेर पठाउने र उसले प्रक्रियाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागी पठाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !