काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालले ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गर्ने भएको छ । उक्त संस्थाको पुस २६ गते शनिबार हुन लागेको आठौँ वार्षिक साधारणसभाको अवसरमा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा गर्न लागिएको हो ।
सिरिजङ्गा सरोकार समाजको केन्द्रीय कार्यसमिति गरेको निर्णयअनुसार कञ्चनजङ्घा हिमालको रेञ्जभित्रको क्षेत्रमा पर्यटकीय, धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, विकास, खोज तथा अनुसन्धानको क्षेत्रमा योगदान गर्ने एक जना नेपाली वा विदेशी व्यक्ति वा एक संघ-संस्थालाई छनौट गरी वार्षिक रुपमा सो अवार्ड एकपटक रकम, मेडल र प्रशंशापत्र आगामी वर्षको वार्षिक साधारणसभादेखि प्रदान गर्न शुरु गरिने छ । यस अवार्डबाट कञ्चनजङ्घा हिमाल र यसको जलाधार क्षेत्रको प्रचार-प्रसार गर्ने र त्यस क्षेत्रमा अद्वितीय योगदान पुर्याउनुहुने व्यक्ति वा संघ-संस्थालाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको छ ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल ८,५८६ मिटर अग्लो रहेको छ । उक्त हिमालको पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ । यो भारत र नेपालको सिमानामा अवस्थित छ ।
समाजको हुन लागेको वार्षिक साधारणसभामा तत्कालिन प्रतिनिधिसभाका सदस्य एवं पूर्व पर्यटनमन्त्री योगेश कुमार भट्टराई प्रमुख अतिथि, तत्कालिन प्रतिनिधिसभा सदस्य लिलादेवी बखिम विशेष अतिथि, तत्कालिन प्रतिनिधिसभा सदस्य उर्मिला थेवे, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, पूर्वमन्त्री मणि लामा, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावो, सिरिजंघा गाउँपालिकाका पूर्वअध्यक्ष टिका गुरुङ, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बल बहादुर तामाङ, ताप्लेजुङ समाजका अध्यक्ष रमेश बराल लगायतका व्यक्तित्वहरु उपस्थिति रहने यस सिरिजङ्गा सरोकार समाज नेपालका अध्यक्ष एवं अधिवक्ता हरिचन्द्र भट्टराईले नेपालपत्रलाई बताए ।
सो कार्यक्रमको आयोजना सामाजिक विकास समाजको सभाहल अनामनगर काठमाडौँमा शनिबार बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । समाजका अध्यक्ष अधिवक्ता भट्टराईबाट आजीवन सदस्य बन्ने विभिन्न महानुभावहरुलाई कार्यक्रमलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण पनि गरिने छ ।
यस कार्यक्रममा विगत झै माघेसंक्रान्तिको उपलक्ष्यमा सेल रोटी, घरतरुल, सिमल तरुल, तील लड्डु, अचार, आलु फ्राई लगायतका स्थानीय परिकारहरुको खानपीन गरी शुभकामना आदान-प्रदान गरी अग्रिम रुपमा माघेसंक्रान्ति पर्व मनाइनेछ ।












