१ फाल्गुन २०८२, शुक्रबार

वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि कर्फ्यु आदेश जारी


वीरगञ्जको अवस्था

वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु हुने जानकारी दिएका छन् । वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।

कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ । प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !