काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को जीवनरक्षाको माग गरेको छ । गत पुस ८ गतेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको संघले जनाएको छ ।
चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले आज सोमबार एक विज्ञप्ति जारी गर्दै हरेक नेपालीको स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा. भुसालको जीवनरक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत स्वास्थ्य समस्या देखिएको संघले जनाएको छ । विगत ७ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत विभिन्न स्वास्थ्य समस्याहरू देखापरेकोले उनको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरू देखापर्दै गएको समेत भनेर ध्यानाकर्षण गराइएको छ ।












