भैरहवा । भैरहवाको होटल निर्वाणामा गोली चल्दा एक जना घाइते भएका छन् । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चल्दा एक जना घाइते भएका हुन् ।
क्यासिनोसमेत सञ्चालन रहेको होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए ।
गोली लागेर होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ। प्रहरीका अनुसार घाइते परियार राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












