१० फाल्गुन २०८२, आइतबार

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या


वैदेशिक रोजगार कार्यालय काठमाडौँ

काठमाडौँ । वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिए ।

उनले भने, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”

त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ । एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए ।

“वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो । मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए । यो समयस्या भने सोहीदिन समाधान भएको छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !