२ फाल्गुन २०८२, शनिबार

असोज २० सम्म रातको समय काठमाडौं आवतजावत नगर्न प्रशासनको आग्रह


प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौं आवतजावत नगर्न अनुरोध गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटनाहरू घट्न सक्ने सम्भावना भएको हुँदा आआफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताएका छन् ।

उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न पनि अनुरोध गरेका छन् । उनले एक सूचना जारी गरी भनेका छन्, “काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्न अनुरोध छ ।”

विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० (विपद् उद्धार) गण, सिनामंगलको सम्पर्क नम्बर ९८५१२७२०३५, ०१–४४७१३३७ र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५१३६२९३७ मा सम्पर्क गर्नसमेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ ।

यसअघि, नै ललितपुर प्रशासनले पनि कान्ति लोकपथका सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । बिहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ ।

अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ । शनिबार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !