६ जेष्ठ २०८१, आइतबार

चाँडो बहिर्गमनका लागि ब्रिटेनलाई इयुको दवाव


Britan and eu flag

युरोपेली आयोगका अध्यक्ष जा क्लड योङकरले इयुबाट ब्रिटेनको बहिर्गमनको प्रकिया तीव्र रुपमा अघि बढाउन आफूले वार्ता सुरु गर्न चाहेको बताएका छन्।

बिहीबारको जनमतसंग्रहको परिणामपछि राजीनामा दिने घोषणा गरेका ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन पदबाट नहटेसम्म वार्ताका लागि कुर्नुको कुनै अर्थ नहुने धारणा उनले राखेका छन्।

जनमतसंग्रहको परिणामको प्रभावबारे तीव्र बहस चलिरहँदा शनिबार उक्त विषयमा छलफल गर्न युरोपेली संघका ६ संस्थापक देशका विदेश मन्त्रीको बैठक बस्दैछ।

ऐतिहासिक जनमतसंग्रहमार्फत युरोपेली संघबाट सम्बन्ध विच्छेद गर्ने निर्णयमा ब्रिटेन पुगेपछि ब्रलिनमा शनिबार बिहान ६ संस्थापक इयु सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठक बस्न लागेको हो।

बैठक
जर्मनी, फ्रान्स, इटली, बेल्जियम, लक्जमबर्ग र नेदरलण्डसका विदेशमन्त्री सहभागी हुने बैठकलाई आगामी साता ब्रिटेनको सहभागिता विना बस्ने इयु शीर्ष बैठकको तयारीका रुपमा लिइएको छ।

अक्टोबरमा राजीनामा दिने घोषणा गरेका ब्रिटेनका प्रधानमन्त्रीले इयुबाट वहिर्गमनका बारेमा आफ्ना उत्तराधिकारीले वार्ता सुरु गर्ने बताएपनि युरोपेली नेताहरुले तत्कालै वार्ता सुरु गर्नुपर्नेमा जोड दिइरहेका छन्।

जर्मनीको एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ता युरोपेली आयोगका प्रमुख जां क्लड योन्करले ब्रिटेनका नागरिकहरुले युरोपेली संघ छाड्ने निर्णय गरिसकेकाले वहिर्गमनका शर्तबारे वार्ता सुरु गर्न अक्टोबरसम्म कुर्नुको अर्थ नरहेको बताए।

उनले भने, “हामी ब्रिटेनले आफ्ना जनताको निर्णयको कार्यान्वयन तत्कालै थालोस भन्ने चाहान्छौँ। उक्त प्रक्रिया जति पीडादायी भएपनि कुनै पनि विलम्बले अनावश्यक रुपमा अनिश्चितता बढाउनेछ।”

उनले इयुका बाँकी २७ सदस्य राष्ट्रको एकता निरन्तर कायम हुनेमा भने जोड दिएका छन्।

अब ब्रिटेनले लिज्बन सन्धिको धारा ५० लाई क्रियाशिल गराउनुपर्नेछ जसले उसलाई इयुबाट अलग हुने विषयमा वार्ता गरी निचोडमा पुग्न दुई वर्षको समय उपलब्ध गराउँछ।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कले क्यामरनले अन्य सदस्य राष्ट्रसँग वार्ता गरिसकेपछि बुधवार बस्ने शीर्ष बैठकमा ब्रिटेनको बहिर्गमन प्रकियाबारे छलफल हुने बताएका छन्।

हलचल
ब्रिटेनको जनमतसंग्रहको परिणामपछि युरोपभर अझै हलचल मचिरहेको छ।

उक्त परिणामले इयु भरका राष्ट्रवादी र लोकप्रियतावादी भनिने दलहरु बलियो भएका छन् तर युरोपेली एकतामा जोड दिइरहेका शक्तिहरुले पनि आफू चुनौति सामना गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिरहेका छन्।

कयौँले युरोपेली संघमा तत्काल सुधार हुनुपर्नेमा जोड दिएका छन्।

फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलन्दले भनेका छन्, “अब यसअघिको जस्तै पारामा काम गर्न हुँदैन।”

बीबीसीकी युरोप सम्पादक काट्या एडलर भन्छिन, यसअघि इयुको भविष्य यसरी अनिश्चित विगतमा कहिल्यै देखिएको थिएन।

उनका अनुसार युरोपभरका सरकारहरु त्रसित देखिदा ब्रसल्स आक्रोशित र चिन्तित मनस्थितिमा छ।

उनका अनुसार उक्त चिन्ताकै कारण इयु ब्रिटेनसँग बहिर्गमनका सर्त र समयबारे कडा रुपमा प्रकट हुन चाहिरहेको छ।

किनभने पिडादायी प्रकिया पार गरेर बाहिरिने भन्दा भित्रै बसेर सुधार गर्न सबैले ध्यान दिउन् भन्ने इयुको चाहाना रहेको ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !