काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले आगामी भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको गरेको हो ।
प्रहरीको ३२औं आईजीपी नियुक्त भएका खापुङहाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्। हालका प्रहरी महानिरीक्षक दिपक थापाले आगामी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् । भ्रमण जानुअघि नै बसेको बैठकले आइजिपी नियुक्त गरेको हो।
२०२७ सालमा जन्मिएका खापुङ नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ सालबाट सेवामा प्रवेश गरेका थिए। नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्।
प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ।
खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन् । अरू एआईजी उनीभन्दा जुनियर हुन् । नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।












