काठमाडौँ । काठमाडौँमा डेंगु सङ्क्रमणका कारण काठमाडौँमा एक युवतीको मृत्यु भएको छ । डेंगु सङ्क्रमण कारण २४ वर्षीय युवतीको बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको उक्त अस्पतालका प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन डा. विमल शर्मा चालिसेले नेपालपत्रलाई जानकारी दिए ।
डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल स्रोतका अनुसार अस्पताल आउँदा नै उनको अवस्था जटिल थियो । यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो ।
यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।












