३ फाल्गुन २०८२, आइतबार

बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध


हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु, नवलपरासी । बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो ।

दाउन्नेको पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनःअवरुद्ध हुने गरेको छ । आज बिहानदेखि सडक पुनःअवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

“हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ”, उनले भने, “पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।”

दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ । बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !