२ फाल्गुन २०८२, शनिबार

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


डा. मिलन कुमार थापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार एवं मूल्यांकन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँ रहेका छन् ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आइतबार आरोपपत्र दायर गरिएको हो।

अख्तियारको दाबी अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूलको कम्पनीलाई ठेक्का पार्ने योजना बनाएका थिए। यसका लागि उनीहरूले विभिन्न चरणमा बदनियत पूर्वक काम गरेको आरोप पत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !