५ फाल्गुन २०८२, मंगलबार

यातायात व्यवसायीद्वारा देशव्यापी आन्दोलन फिर्ता


यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायीहरूले जारी देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए ।

राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । यो निर्णयसँगै भोलिदेखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्ने छन् ।

आज मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका हुन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !