काठमाडौं । सार्वजनिक यातायात बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेकोले सार्वजनिक यातायात नचल्दा यात्रुहरु मर्कामा परेका हुन् ।
काठमाडौंसहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलेका छैनन् । गाडी नचलाइँदा सार्वसाधारण मर्कामा परेका छन् ।
अस्पताल जानुपर्ने बिरामी, उनीहरूका आफन्त, कार्यालयतिर हिँडेका कर्मचारी, कामविशेषले गन्तव्यतर्फ लागेका यात्रीसहितका सर्वसाधारणलाई गाडी ठप्प हुँदा सास्ती भएको छ । सार्वजनिक यातायात नचलाइँदा कतिपय विद्यालय समेत बन्द गरिएको छ ।
काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् ।
सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् । काठमाडौंमा साझा यातायात भने गुडिरहेको देखिएको छ । ठाउँठाउँमा यात्री सार्वजनिक सवारीसाधनको प्रतीक्षामा देखिएका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले आजदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।
उनीहरुले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेका छन् ।












