काठमाडौँ । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २४ वर्ष पूरा भएर २५ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि रहस्य गर्भमै रहेको छ ।
२०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।
दरवार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो ।
उक्त समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन । त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन् ।
कतै यो हत्याकाण्डको पछि सिमित स्वार्थपूर्ति गर्न केही व्यक्तिहरू लागेको होकी भन्ने कुरा घटनाले देखाएको छ । राजदरबार हत्या हुँदा राजकुमार दिपेन्द्रलाई दोषी ठहराउनु र मार्ने मान्छे स्वयम्को पनि हत्या हुनु एउटा रहस्य बनेको देखिन्छ ।
प्रतिसोधमा गरेको हत्यामा स्वयंलाई गोली लागेको देख्दा राजकुमारले नभई राजकुमारको मुकुण्डो लगाएको अर्को व्यक्तिले हत्या गरेको सहज अनुमान लगाउन सकिन्छ । राजदरबारमा घटेको घटना सुनियोजित भएको देखिन्छ भने त्यति बेला घट्ना घट्दा सुरक्षा फौज कहाँ थियो र उसले हत्या रोक्न किन चाहेनन् भन्ने कुरा रहस्य बनेको छ ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए । तर डिजाइनर को हुन्? भन्ने कुरा रहस्यमै सीमित भएको छ ।
तत्कालीन सभामुख तारानाथ रानाभाटले उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजानिक गरेका थिए । उक्त घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहरेपनि धेरै नेपालीहरु रहस्यमय घटना नै भनिरहेका छन् । तत्कालीन सभामुख रानाभाटले यो घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदनले जे कुरा निकाल्यो सोही कुरा पढेर आफूले सार्वजानिक गरेको बताउछन् ।
तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश लगायत सम्मिलित छानबिन टोलीले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठहर्याउनु गलत थियो भन्ने कुरा युवराज दीपेन्द्रको मृत्युले समेत प्रष्ट पारेको देखिन्छ ।
यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ । हरेक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गथ्र्यो।
उदार जनप्रिय र शान्ति प्रेमी राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए ।
तर उनले प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए । सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो। ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।
राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, राजनीतिक व्यवस्थामा चलेपनि राजा वीरेन्द्रलाई मनमा सजाएका धेरै नेपालीहरु छन् । त्यसैले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन ।












