काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । यातायात व्यवसायीले भोलि सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
उनीहरुले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।













