
काठमाडौं । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । हिजो शुक्रबार दिउँसो ४ : २५ देखि लगाइएको कर्फ्यु आज शनिबार बिहान ७ बजे हटेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको थियो । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको थियो ।
प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको थियो ।
यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको थियो । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको थियो ।