
विराटनगर । सुनसरी जिल्लाको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा आज बुधबार भीषण आगलागी भएको हो ।
आज बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाल प्रहरी, वारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणमा इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागीबाट क्षति भएको छ । प्लाजामा क्यूएफएक्स सिनेमा घर, बरन्डा होटल र अन्य व्यापारिक प्रतिष्ठानका कार्यालय छन् ।