३ चैत्र २०८१, सोमबार

धनुषामा चोकको नाम राख्ने विषयमा विवाद, प्रहरीको गोली लागेर एकजना घाइते


गोली चल्यो

जनकपुर । धनुषाको सबैला नगरपालिकामा आज सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीको गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएका हुन् । सोमबार दिउँसो दुई समुदायबीच तनाव बढ्दा भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो ।

सबैला नगरपालिकामा पर्ने एक चोकमा यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेका थिए । अन्य समुदायका व्यक्तिले उक्त बोर्ड हटाएपछि दुई समुदायबीच विवाद बढेको थियो ।

चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले दाबी गरेको छ । घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !