असार ८, २०७३
लामो समयदेखि नेपालमा महिला अधिकारका लागि कार्यरत अधिकारकर्मी तथा संचारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी समिति (सिड कमिटी) मा निर्वाचित हुनुभएको छ । राष्ट्रसंघको यो कमिटिको सदस्यमा चयन हुने राणा पहिलो नेपाली बन्नु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको कमिटिको १९ औं बैठकले विभिन्न २४ देशका महिला उम्मेदवारीहरुमध्ये ११ सदस्य रहने उक्त समितिमा उनी छैटौ नम्बरमा परेकी हुन् । निर्वाचनमा राणा १०६ मत पाएर विजयी भएकी हुन् ।
उनी ३ वर्षे कार्यकालका लागि छनौट भएकी हुन् । उनी सन् २०१७ देखि २०२० सम्म समिति सदस्य रहेने छिन् । उक्त समिति महिला विभेद अन्त्यको लागि काम गर्ने महत्वपूर्ण ठाउँ हो। नेपाल सरकारले समितिमा सदस्य बन्न उनको नाम सिफारिस गरेको थियो । यो विभेद अन्त्यको लागि सक्रिय रहन भन्दै सरकारले राणालाई १० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । परराष्ट्र मन्त्रालय र नियोगले उनलाई जिताउन लबिङ गरेको थियो । यसअघि पनि नेपालले सपना मल्ल प्रधानलाई समिति सदस्यको लागि सिफारिस गरेको थियो । तर प्रधान विजयी हुन सकिनन् ।
केही समयअघि मात्र नेपाल संयुक्त राष्ट्रसंघीय ७१ औं महासभाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएको थियो । अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।