२० असार, काठमाडौँ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसको विकास गर्न प्राकृतिक चिकित्सा विधेयक पनि ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “मानिसको शरीर प्राकृतिकै देन भएकाले त्यसको उपचार पनि प्राकृतिकरुपमा हुनुपर्छ, पछिल्लो समय पश्चिमा चिकित्सा पद्धतिले बाँधे पनि हामी पुरानै उपचार पद्धतिमा फर्कन थालेका छाँै ।”
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई एकीकृतरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा प्राचीन उपचार पद्धतिले खानपान, रहनसहन, दैनिक योगाभ्यासलगायतका सबै कुरा सिकाउने भएकाले पछिल्लो समय बढिरहेको नसर्ने रोग रोकथाममा पनि यो उपयोगी छ”, उहाँले भन्नुभयो ।
आफ्ना मौलिक चिकित्सा पद्धतिलाई वैकल्पिक भनी पश्चिमा उपचार पद्धति अपनाउनुभन्दा आफ्नै चिकित्सा पद्धतिका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नयाँ संरचनामा संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा एक दरबन्दी प्राकृतिक चिकित्सालाई दिनुपर्ने माग अघि सारेको बताउनुभयो ।
योग गुरु डा हरिप्रसाद पोखरेल, राष्ट्रिय आयुर्वेद संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा कृष्णकुमार अर्यालले प्राकृतिक चिकित्सालगायत अन्य पूरक चिकित्सा पद्धतिको समष्टिगत विकासका लागि राष्ट्रिय पूरक चिकित्सा नीति आवश्यक भएको बताउनुभयो ।
सरकारले प्राकृतिक चिकित्साको विकास गर्ने उद्देश्य असार २० गतेलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका रुपमा मनाउने निर्णय गरेको छ । (रासस)