३१ चैत्र २०८१, आइतबार

अध्यक्ष नेपालद्वारा सापकोटाको निधनप्रति दुःख प्रकट


माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गरेका छन् ।

अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

लोकतन्त्र स्थापनाका लागि सापकोटाले पुर्याएको योगदानको स्मरण गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनप्रतिनिधिका रुपमा उनले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गरेको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिए ।

कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उनको श्रीमती र एक छोरी छन् ।

उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सापकोटाको निधनका कारण प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । बैठक शुक्रबार र शनिबार बस्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !