२७ फाल्गुन २०८१, मंगलबार

‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’


प्रदीप यादव

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताए । यसबारे शिक्षामन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उनको भनाइ थियो ।

सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराएका थिए ।

यसैबीच मन्त्री यादवले आजै बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारणसभामा सुनकोशी र हेटौँडास्थित राप्तिखोलाको पानी ल्याएर मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने मन्त्रालयको योजना रहेको बताए । मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे ।

सप्तरीदेखि पर्सासम्म सुनकोशी डाइभर्सनमार्फत पानीको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री यादवको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !