६ जेष्ठ २०८१, आइतबार

वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत


dhan

१९ असार, चितवन । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।

चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिनुभयो ।

जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिनुभयो । “चितवनका किसानलाई ठूलो राहत भएको छ, श्रेष्ठले भन्नुभयो, उनीहरु खुशी भएका छन् ।”

पूर्वी चितवन क्षेत्रमा झण्डै २५ प्रतिशत रोपाइँ भएको छ । भरतपुर क्षेत्रमा करीब पाँच प्रतिशतको हाराहारीमा रोपाइँ भएको अनुमान कृषि कार्यालयको छ । इच्छाकामना गाउँपालिकामा रोपाइँ हुन सकेको थिएन भने कालिका नगरपालिकामा ५÷६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

दक्षिणी भेग माडीमा अहिलेसम्म १२ प्रतिशत रोपाइँ भएको अनुमान छ । अघिल्लो वर्ष यो समयमा जिल्लामा करीब २५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष पानी नपर्नाले रोपाइँ हुन सकेको थिएन ।

पानी परेपछि भने सुख्खा क्षेत्रमा समेत रोपाइँ हुनेछ । रत्ननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आलीसमेत सुकेर बसेका बेला पानीले राहत दिएको बताउनुहुन्छ ।

जिल्लामा यो वर्ष कूल २८ हजार ६०० हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !