काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीमा उजुरी दिएका छन् । हिजो काठमाडौँ जिल्ला अदालत परिसरमा कुटाइ खाएका वरिष्ठ अधिवक्ता त्रिपाठीले आज प्रहरीमा उजुरी दिएका हुन् ।
उनले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् । आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
यस्तै नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
हिजो स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो ।
त्रिपाठीलाई कुटपिट भएलगत्तै प्रहरीले दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो । त्रिपाठीले आज दिएको उजुरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।