२६ पुस २०८१, शुक्रबार

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता


अमृतबहादुर राई

काठमाडौँ । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

“हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु”, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उनले बिहीबार बिहान रासससँग भने । देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि सचिव राईले व्यक्त गरे ।

सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका परराष्ट्र सचिव राई सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सङ्गठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिवका रूपमा सेवा गरेका थिए ।

मार्च २०१९ देखि जुन २०२३ सम्म उनी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि तथा डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत थिए । कायममुकायम सचिव हुनुअघि उहाँले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा सचिव राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए ।

सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा उनले निजामती सेवा प्रारम्भ गरेका हुन् ।

सन् १९७० मा सङ्खुवासभाको चिचिला गाउँपालिकामा जन्मेका परराष्ट्र सचिव राईले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापन र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई परराष्ट्र सचिवमा पदोन्नति गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !