काठमाडौं । भक्तपुरको बालकोटमा बाबु छोरा मृत अवस्थामा फेला परेका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् ।
आज सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी-१ का ५६ वर्षीय आचार्य र उनका २२ वर्षीय छोरा प्रविन मृत फेला परेका हुन् ।
उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकाहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
हिजो उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले अहिले उनको खोजी सुरु गरेको छ ।
कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बाको रुपमा कार्यरत भएको बुझिएको छ । उनी कार्यालयको कामले काठमाडौं आएको पाइएको छ । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।